पूर्वाञ्चल ज्ञानको वार्षिक उत्सव सम्पन्न नौ जना सम्मानित

पूर्वाञ्चल ज्ञानको वार्षिक उत्सव सम्पन्न नौ जना सम्मानित

पूर्णरूपले दृष्टिविहीन तथा न्यून दृष्टि भएका विद्यार्थीहरूले मात्र अध्ययन गर्ने नेपालकै एकमात्र धरान–१५, सुनसरीस्थित श्री पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयले आफ्नो ४८ औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। शिक्षाबाट मात्र राष्ट्रको समुचित विकास गर्न सकिन्छ र सबै प्रकारका नागरिकले शिक्षा लिन पाउनुपर्छ भन्ने सोचका साथ वि.सं. २०३४ साल पौष १४ गते तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले औपचारिक रूपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको विद्यालयमा नेपालका विभिन्न जिल्लाका अतिरिक्त छिमेकी राष्ट्र भारतका दृष्टिविहीनहरूले पनि अध्ययन गरेको इतिहास छ। हाल नेपालका पूर्वदेखि पश्चिम सबै जिल्लाका दृष्टिविहीन विद्यार्थीहरूले यहाँ अध्ययन गरिरहेका छन्।

प्रतिवेदन र विद्यालयको आगामी कार्ययोजना प्रस्तुत गर्दै विद्यालयका प्रध्यापक प्रमोद भण्डारीले यसै वर्षबाट ब्रेल लिपिमा मात्र नभई अब विद्यार्थीहरूको सम्पूर्ण परीक्षा विद्यार्थी स्वयंले कम्प्युटरबाट दिने वातावरणको निर्माण गर्ने घोषणा गरेका छन्। “शिक्षालाई प्रविधिसँग जोडेर प्रविधि मैत्री बनाउन सके मात्र विद्यार्थीको क्षमता विकास हुने र आजको प्रतिस्पर्धामा अब्बल भई उत्रन सक्ने भएकाले यसमा लागि परेको छु। यहाँबाट पास भएर गएका विद्यार्थीहरू शिक्षण, संगीतका अतिरिक्त विभिन्न व्यवसायमा पनि आबद्ध भई जीवनयापन गर्ने भएकाले मसाज तालिम दिने योजना रहेको छ। यसको बजार राम्रो रहनका साथै धेरै दृष्टिविहीनहरूले यस पेशा व्यवसायमा आबद्ध हुँदा राम्रो कमाई गरिरहेको हुँदा नगरपालिकाले सहजीकरण गरेमा आगामी दिनहरूमा यो योजना लागू गरिनेछ,” भण्डारीले बताए।

दृष्टिविहीनका अतिरिक्त अन्य विभिन्न अपाङ्गतासँग सम्बन्धित चारवटा विद्यालय धरानमा यति लामो समयदेखि सञ्चालनमा रहेता पनि उपमहानगरपालिका आजको मितिसम्म अपाङ्ग मैत्री बन्न नसकेकोमा आफू दुखी रहेको र यसमा उपमहानगरपालिकाका अतिरिक्त धरानका सबैले तत्काल सोच्नुपर्ने अवस्था रहेको भन्दै उनले उपमहानगरपालिकालाई अपाङ्गमैत्री पालिका घोषणा गर्न आग्रह गरे।

विद्यालयलाई दृष्टिविहीनहरूले अध्ययन गर्ने विद्यालयका रूपमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा रहेका विभिन्न विश्वविद्यालयहरूसँग समन्वय गर्दै यसलाई एउटा अनुसन्धान केन्द्रका रूपमा अघि बढाउने आफ्नो योजना रहेको पनि भण्डारीले बताए। “दृष्टिविहीन भएका विद्यार्थीहरूको कम्प्युटर इन्जिनियरिङका क्षेत्रमा समेत सम्भावना खोज्न र त्यसका लागि आवश्यक वातावरण तयार गर्न नेपाल नेत्रहीन संघसँग समन्वय गरी एउटा कार्यक्रम बनाएर अघि बढ्ने योजना रहेको छ,” उनले भने।

विद्यालयको नाम ज्ञानचक्षु भए पनि ‘अन्धा स्कुल’ भनेर मात्र चिनिने विषयमा एक्सन सञ्चारको प्रश्नमा प्रधानाध्यापक भण्डारीले भने, “हजुर, हो। यो विद्यालयका लागि पनि अत्यन्तै लज्जाको विषय हो। र यसमा विद्यालयसँगै शिक्षित र सभ्य अनि सुसंस्कृत भनिने हामी सबै धरानेहरू पनि उत्तिकै जिम्मेवार छौँ। नजानेर नबुझेर अन्धा स्कुल भन्ने आफ्नै ठाउँमा छ। तर कतिपयले बुझेरै पनि सजिलोका लागि अन्धा स्कुल भन्ने गरेका छन्, जुन अत्यन्तै दुःखको विषय हो। अरू त अरू, विद्यालयसँग सम्बन्धित केही व्यक्तिहरूले पनि म अन्धा स्कुलमा कार्यरत छु भनेको सुन्दा मलाई साह्रै नै नराम्रो लाग्ने गरेको छ। भन्छन्, खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ। हामीलाई त नराम्रो लाग्छ भने स्वयं विद्यार्थी भाइबहिनीहरूले यो कुराबाट कस्तो महसुस गर्नुहुन्छ होला भन्ने कुरा म सजिलै महसुस गर्न सक्छु। यसर्थ मुख्य राजमार्गसँग जोडिएको ज्ञानचक्षु मार्गमा ‘यो ज्ञानचक्षु विद्यालय जाने बाटो हो’ लेखेर एउटा ठूलो होर्डिङ बोर्डसहितको गेट बनाउने योजना राखेको छु। यसले पक्कै पनि केही सकारात्मक नतिजा ल्याउने विश्वास छ। यसका अतिरिक्त विभिन्न चेतनामूलक सामग्री बनाएर सञ्चारमाध्यमको सहयोग लिने योजना पनि रहेको छ।”

अहिले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको कुरा चलिरहँदा दृष्टिविहीनहरूले मात्र अध्ययन गर्ने विद्यालयमा स्वयं दृष्टिविहीन शिक्षक तथा कर्मचारीको उपस्थिति चाहिँ कस्तो छ नि भन्ने एक्सन सञ्चारको अर्को प्रश्नमा प्रधानाध्यापक भण्डारीले भने, “दृष्टिविहीनहरूले अध्ययन गर्ने विद्यालयमा दृष्टिविहीन शिक्षक तथा कर्मचारीको उपस्थिति हुनु भनेको विद्यार्थीका लागि एउटा उत्प्रेरणा हो। यसले स्वयं दृष्टिविहीनहरूको अधिकारलाई समेत सम्बोधन गर्छ भन्ने कुरा विद्यालयले बुझेको छ। र आवश्यकतालाई हेरेर दृष्टिविहीन शिक्षक तथा कर्मचारीको उपस्थिति आन्तरिक प्रतिस्पर्धाबाटै गर्नसक्ने किसिमको निर्देशिका माथिबाट आगामी दिनमा आइदिए राम्रो हुने थियो। त्यसका लागि विद्यालयले आफ्नो प्राप्त क्षमता र अधिकारका आधारमा पहलकदमी लिनै रहेको छ। केही समय अगाडि केही शिक्षक तथा कर्मचारी आवश्यकता परेको सूचना जारी हुँदा केही दृष्टिविहीन साथीहरू पनि परीक्षामा सहभागी बन्नुभएको थियो। दुर्भाग्यवश, आवश्यक प्राप्ताङ्क पूरा गर्न नसकेका कारण उहाँहरू छनोट हुन सक्नुभएन, जुन विद्यालयका लागि दुःखद विषय हो।”

विद्यालय व्यवस्थापन र प्रशासनप्रति भूतपूर्व विद्यार्थीहरूको गुनासो छ नि भन्ने प्रश्नमा प्रधानाध्यापक भण्डारी भन्छन्, “अ मैले पनि अनौपचारिक रूपमा सुन्ने गरेको छु। तर यो विद्यालय उहाँहरूको घर पनि हो। आफूलाई चित्त नबुझेका कुरा घरका अभिभावकलाई खुलेर भन्न सक्नुपर्छ। कानुनी रूपमा उहाँहरू भूतपूर्व विद्यार्थी भए तापनि यस विद्यालयका उहाँहरू आजीवन सदस्य हुनुहुन्छ। यसर्थ वारका कुरा सुन्न म सदैव तत्पर छु। सुन्दैछु, भूतपूर्व विद्यार्थी समूह गठन गर्दै हुनुहुन्छ रे। यो विद्यालयका लागि अत्यन्तै स्वागतयोग्य कुरा हो। यसमा विद्यालय आवश्यक सहजीकरण गर्न तयार छ। उहाँहरू संस्थागत रूपमा एकीकृत हुनुभयो भने यो विद्यालयका लागि पनि कुनै कार्यक्रम गर्दा संस्थागत रूपमा सहकार्य गर्न सजिलो हुन्छ। आगामी दिनमा यस विद्यालयबाट अध्ययन गरी विभिन्न क्षेत्रमा सफल रहनुभएका भूतपूर्व विद्यार्थीहरूलाई विद्यालयमा आमन्त्रण गरी हालका विद्यार्थीहरूलाई मोटिभेसन स्पिच दिन लगाउने योजना रहेको पनि उहाँले बताउनुभयो।”

अक्षकोष निर्माण, पाठ्य सामग्री सहयोग तथा विद्यालयका भौतिक निर्माणमा सहयोग पुर्‍याउने ९ जना सहयोगी दाताहरूलाई विद्यालयले सम्मानित गरेको छ। सम्मानित हुने सबै सहयोगी दाताको सम्मानपत्र विद्यालयमा लामो समयदेखि शिक्षिका रहेकी धरानकी समाजसेवी विद्या शाक्यले पढेर सुनाउनुभएको थियो। सम्मानित हुनेहरूमा:

१. सचिन मास्के (धन योगा फाउन्डेसन)

२. सन्तोष देवी सोनी

३. श्याम कुमार राई (गोर्खा वेल्फेयर)
४. रजिन आङबोहाङ
५. पुष्कर प्रसाद जोशी
६. रोमन अधिकारी (अमेरिका)
७. मनिष प्रधान
८. लक्ष्मी बानिया
९. विश्वराज लिम्बु

सरकारबाट प्राप्त हुने आर्थिक रकमले मात्र विद्यालय सञ्चालनमा अपुग हुने हुँदा स्थानीय समाजसेवीहरूसँग पनि विद्यालयले विभिन्न कार्यक्रममार्फत सहकार्य गर्दै आएको छ।   फोटो – अनिश बस्नेत 

actionsanchar Avatar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

एक्शन संचार