धरानका मेयर हर्क साम्पाङले खानेपानी मन्त्रालयलाई लेखेको पत्रले सामाजिक सञ्जालमा ठूलो हलचल मच्चाएको छ, तर मन्त्रालय भने बेखबर जस्तै देखिएको छ।
राजा महेन्द्रले पञ्चायतमा प्रादुर्भाव गरेको श्रमदानको अभियानलाई बहुदल प्राप्त भइसकेपछि पनि स्वैच्छिक रूपमा जनता आफैंले निरन्तरता दिएका थिए। त्यस समयमा पुल, कुलेसा, नहर तथा गोरेटो बाटो र कतिपय स्थानमा ठूला मार्गहरू समेत जनता आफैं जुटेर निर्माण गर्थे। पछि माओवादी द्वन्द्वकालमा पनि यस अभियानलाई निरन्तरता दिइएको थियो। तर, ६२/६३ को जनआन्दोलनपछि प्राप्त गणतन्त्रमा भने श्रमदानको उपेक्षा भएको देखिन्छ।
आजका दिनमा आम जनतामा देशका लागि भन्दा आफ्ना व्यक्तिगत लाभका लागि काम गर्ने भावनाको विकास भएको छ। प्रविधिको विकासले पनि मानिसहरू एक्लै बस्न रुचाउँछन् भने अधिकांश नेपाली युवाहरू विदेशतिरै रहेका छन्। सबै कुरा महँगो भएको छ र देशका लागि श्रम गर्ने फुर्सद कसैसँग छैन। राष्ट्रको विकास बजेट अत्यन्त कमजोर हुँदा पनि सानोभन्दा सानो काममा जनता सहभागी हुन छोडेका छन्। सबै कुरा ठेकापट्टा र कमिसनको भरमा चल्न थालेको अवस्थामा धरानका मेयर हर्क साम्पाङले भने श्रमदानको अभियानलाई अझ तीव्र र व्यवस्थित ढंगबाट एक महाअभियानका रूपमा विकास गरेका छन्।
ससाना विकास निर्माणका कार्यमा जनता आफैं सहभागी हुनुपर्छ, “माटो छोए मात्र देश बन्छ” भन्ने साम्पाङको भावना यथार्थ र वैज्ञानिक भए पनि राजनीतिक दलहरूलाई उनको यो कार्य टाउको दुखाइको विषय बन्न पुगेको छ। श्रमदानको अभियान यति लोकप्रिय भयो कि उनले सर्वाधिक जनतालाई श्रमसँग जोडेर वर्ल्डबुक रेकर्डमा आफ्नो र देशको नामसम्म राख्न सफल भएका छन्।
धराने जनतालाई जसरी पनि पानी खुवाउने योजनामा साम्पाङले कहिले ढुङ्गा बोक्छन् त कहिले गिटार बजाएर व्यंग्यात्मक शैलीमा गीत प्रस्तुत गर्छन्। सामाजिक सञ्जालमा ठेट नेपाली शब्द ‘गुइठे’, ‘बाते’ जस्ता शब्दमार्फत आफ्ना विपक्षीमाथि प्रहार पनि गर्छन्। पछिल्लो समय भने व्यस्तताका कारण उनी सामाजिक सञ्जालमा अलि कम देखिएका थिए। तर, अहिले धरानको फोहोर व्यवस्थापन र सप्तकोशीको पानी ल्याउनका लागि पुग्दो बजेट दिन भन्दै खानेपानी मन्त्रालयलाई लेखेको पत्रले फेरि सामाजिक सञ्जालमा चर्चा पाएका छन्।
पत्रमा साम्पाङले धराने जनताले फोहोर व्यवस्थापन र खानेपानी अभावका कारण भोग्नुपरेका समस्यालाई रोचक शैलीमा प्रस्तुत गरेका छन्।
Leave a Reply